वामगती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नदी छेउमा भएका बस्तीलाई स्थानान्तरण गर्नुपर्ने बताउनुभएको छ ।
सोमवार काठमाडौं महानगरपालिकाद्वारा आयोजित काठमाण्डु क्लाइमेट एक्शन विकलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले नदी बेसमा भएका भौतिक संरचना र बस्ती विकासलाई स्थानान्तरण गर्न आवश्यक भइसकेको बताउनु भयो । उहाँले नदी छेउका बस्ती स्थानान्तरण गर्ने जिम्मेवारी तीन वटै सरकारको भएको पनि बताउनु भयो । उहाँले यसले मानवीय क्षतिलाई न्युनिकरण गर्न सकिने उहाँको भनाइ छ । मुख्यमन्त्री मगरले त्रिशूली नदीमा सात वटा हाइड्रो रहेको र सुरुङबाट निस्किएको मग सबै नदीमा डिपोजिट भएकै कारण पनि भदौ १० गतेको बाढीले ठूलो क्षति गरेको जिकिर गर्नुभयो । नदी छेउमा हाइड्रोहरुलाई स्वीकृति दिँदा नदीमा मग जम्मा हुनेगरी दिनु नहुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘भोटेकोशीको जुन महाविपत्ति छ, त्यसलाई हेरेर पनि जुन नदी बेसामा भएका संरचना, भौतिक संरचना, बस्ती विकास त्यसलाई स्थानान्तरण गर्नु हामी तीन वटै तहका सरकारको महत्वपूर्ण जिम्मेवारी छ । जसको कारणले गर्दा मानवीय क्षतिदेखि अन्य भौतिक संरचनाको क्षतिबाट हामीले न्युनिकरण गर्नसक्छौँ र जोगाउन सक्छौँ । त्यतातिर हामी तीन तहकै सरकार लाग्न जरुरी छ । आफ्नो आफ्नो जिम्मेवारी लिएर अघि बढ्न सकेको खण्डमा त्यस्ता संरचनाहरु मानवीय क्षति हामी कम गर्नसक्छौँ । भोटेकोशी बाढी पहिरोमा जुन हिमतालबाट फुटेर बगेको हिमनदीको कारणले त्यहाँबाट विष्फोट भएको र अर्को पानीको साथै हाम्रा नदी बेसमा धेरै हाइड्रोहरु बनेका छन् । त्रिशूली नदीमा सात वटा हाइड्रो छ । सुरुङबाट निस्किएको मग सबै नदीमा डिपोजिट भयो, त्यो नदीमा डिपोजिट भएकै कारण नदीमा बगेकै कारणले त्यसले पानी मात्रै बगेन, सबै लेदो, कंक्रिटहरु बगाएर लिएर आएको कारणले धेरै क्षति भएको छ । कुनै संरचना हामीले तयार गर्ने हो भने कम्तिमा इआइए गर्दा त्यस्ता हाइड्रोहरुलाई स्वीकृति दिँदा नदीमा मग जम्मा हुनेगरी अब हामीले दिनु हुँदैन । हाम्रा खोलानाला, नदीमा त्यसको जुन क्षेत्रफल छ, त्यसलाई साँघुराउने काम गर्नु हुँदैन ।’
मुख्यन्त्री मगरले नदीको बहाव क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन जरुरी रहेको बताउनु भयो । त्यसले मानवीय क्षति कम गर्न सकिने जिकिर गर्नुभयो । प्रकृतिले सिर्जना गरेको क्षेत्रलाई खुला राख्नुपर्ने उहाँको भनाइ छ । वागमती प्रदेशका अन्य बजेट शिर्षकहरु कटौति गरेर पुनःनिर्माणतर्फ जाने तयारीमा सरकार रहेको बताउनु भयो । करिव ५ अर्ब फण्ड तयार गरेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल