सयपत्री र मखमलीको सुवासः बजारमा फूलमाला किन्ने ग्राहकको भीड (तस्बिरहरु)

.

काठमाडौँ उपत्यकामा तिहार (यमपञ्चक) को रौनकसँगै यतिबेला सडक, गल्ली र तोकिएका बजारहरू सयपत्री र मखमली फूलको सुवासले मगमगाएका छन् । घरआँगन सजाउन, लक्ष्मीपूजा गर्न र भाइटीकामा दाजुभाई–दिदीबहिनीबीच माया र सद्भावको प्रतीकका रूपमा लगाइदिने फूलमाला किन्न राजधानीका मुख्य बजारहरूमा सर्वसाधारणको भीड लागेको छ । सडक आवागमन व्यवस्थित बनाउन काठमाडौं महानगरपालिका तथा उपत्यकाका अन्य नगरपालिकाहरूले खुला चौर, फुटपाथ नजिकका खुला भाग तथा तोकिएका स्थलहरूमा मात्रै फूलमाला विक्रीको व्यवस्था मिलाएका छन् । मुख्य चोकहरूमा किसान तथा खुद्रा व्यापारीहरूले सयपत्री र मखमलीका लस्करै माला झुन्ड्याएर पसल थापेका छन् । उपत्यकाका किसान मात्र नभई धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक र भक्तपुरको गुन्डुबाट किसानहरू आफैँ फूलका ठूला–ठूला थुङ्गा र उनिएका ताजा माला लिएर राजधानी भित्रिएका छन् । व्यापारीहरू सुइरो र सेतो धागोको सहायताले ग्राहककै अगाडि फटाफट नयाँ माला उन्दै दिइरहेका छन् । साना नानीबाबुदेखि वृद्धवृद्धासम्म सबैजना माला उन्ने र बेच्ने काममा रमाइरहेका देखिन्छन् ।    सडकमा गुड्ने मोटरसाइकल तथा स्कुटर चालकहरू सवारी छेउमै रोकेर ताजा माला छान्दै मोलमोलाइ गरिरहेका छन् । कोही दाजुभाइका लागि मखमलीका नओइलाउने माला छान्दैछन् भने कोही घरको मूलढोका र झ्याल सजाउन पहेँलपुर सयपत्रीका लामो–लामो माला किन्दैछन् । प्लास्टिकका कृत्रिम मालाको आयात र बिक्रीमा कडाइ गरिएकाले पनि यसपटक स्थानीय प्राकृतिक फूलको माग र व्यापार निकै फस्टाएको व्यापारीहरू बताउँछन् । फूलमालासँगै बजारमा तिहारका अन्य अत्यावश्यक सामग्रीको किनमेल पनि उत्कर्षमा छ । सडकपेटीमा थाल र बाटाभरि सजाइएका रातो, पहेँलो, हरियो, बैजनी र नीलो सप्तरङ्गी टीकाका रङहरूले सडकलाई रङ्गीन बनाएका छन् । दीपावलीमा घर झलमल्ल पार्न प्रयोग हुने भक्तपुरे माटोका पाला (दियो), तामा र पित्तलका पूजाका भाँडाकुँडा, दियो–कलश, लक्ष्मी–गणेशका मूर्ति, नेपाली मौलिक ढाका टोपी, ओखर र भोगटेको व्यापारले राजधानीको अर्थतन्त्रलाई चलायमान बनाएको छ । ग्राहकहरूको उत्साहजनक उपस्थितिले किसान र व्यापारी दुवैको अनुहारमा खुशी छाएको छ । –न्युज एजेन्सी नेपाल

तस्बिरहरुः अनुप प्रधान/ न्युज एजेन्सी नेपाल