नेपाल संवत मौलिकता, राष्ट्रियता र ऐतिहासिक स्वाभिमानको प्रतिकः प्रधानमन्त्री साह

.

प्रधानमन्त्री बालेन्द्र साहले नेपाल संवत नेपालको मौलिकता, राष्ट्रियता र ऐतिहासिक स्वाभिमानको प्रतिक भएको बताउनुभएको छ ।
नेपाल संवत ११४७ न्हुँद नेपाल नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले कुनै शासकीय शक्तिबाट नभई एक परोपकारी र त्यागी नागरिकको प्रेरणाबाट नेपाल संवत शुरु भएको उल्लेख गर्नुभएको हो । राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानका पूर्वअध्यक्ष श्याम मानन्धरले प्रधानमन्त्री साहको शुभकामना सन्देश पढेर सुनाउनुभएको थियो । प्रधानमन्त्री साहको भनाइ उद्धृत गर्दै मानन्धरले ११४६ वर्षअघि राजा राघवदेवको शासनकालमा सर्वसाधारण जनतालाई ऋणमुक्त गराई जनहित र समाज सुधारको उत्कृष्ट उदाहरण प्रश्तुत गर्दै राष्ट्रिय विभूति शङ्खधर साख्वाले नेपाल संवत प्रचलनमा ल्याउनुभएको बताउनु भयो ।
व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको सेवा गर्ने साख्वाको दूरदर्शी योगदान सधैँ प्रेरणादायी रहेको प्रधानमन्त्री साहको सन्देशमा उल्लेख छ । नेपाल संवत नेपालको मौलिकता, राष्ट्रियता र ऐतिहासिक स्वाभिमानको प्रतिक भएको भन्दै उहाँले यसको संरक्षण र प्रवद्र्धनमा जोड दिनुभएको छ । विगत दुई दशकदेखि नेपाल संवत र शङ्खधर साख्वाको लोककल्याणकारी योगदानलाई जनमानसमा प्रवद्र्धन गर्दै आएको राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानको कार्य प्रशंसनीय रहेको पनि प्रधानमन्त्री साहले उल्लेख गर्नुभएको छ ।
प्रधनमन्त्री साहले भन्नुभयो, ‘नेपाल संवत ११४७ न्हुँद नेपाल नयाँ वर्षको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । आजभन्दा ११४६ वर्षअघि राजा राघवदेवको शासनकालमा सर्वसाधारण जनतालाई ऋणमुक्त गराई राष्ट्रिय विभूति शङ्खधर साख्वाले नेपाल संवत प्रचलनमा ल्याउनुभएको ऐतिहासिक योगदान हाम्रो मौलिकता, राष्ट्रियता र सामाजिक सेवाभावको अनुपम प्रतीक हो । उहाँको परोपकारी भावना र लोककल्याणकारी कार्य सधैँ प्रेरणादायी रहनेछ । नेपाल सम्वत् र शङ्खधर साख्वाको योगदानको प्रचारप्रसारमा निरन्तर क्रियाशील राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठानको योगदान प्रशंसनीय छ । नेपाल संवत ११४७ ले सम्पूर्ण नेपालीबीच आपसी एकता, भ्रातृत्व र सद्भाव अझ सुदृढ बनाओस् ।’
प्रधानमन्त्री शाहले नेपाल संवत ११४७ ले सम्पूर्ण नेपालीबीच आपसी भ्रातृत्व, एकता र सद्भाव थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । –न्युज एजेन्सी नेपाल