गणेशमानको त्याग र आदर्शबाट काँग्रेसले पाठ सिक्नुपर्छः प्रकाशमान सिंह

.

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र देखिएको विवाद र राजनीतिक अन्योल समाधान गर्न गणेशमान सिंहले देखाएको त्याग, निष्ठा र आदर्शलाई आत्मसात गर्नुपर्ने बताउनुभएको छ ।
मंगलवार गणेशमान सिंहको ११३ औँ जन्मजयन्तीका अवसरमा काठमाडौंको शान्तिबाटिकास्थित उहाँको सालिकमा माल्यार्पण गर्दै नेता सिंहले लोकतन्त्र, राष्ट्रियता र पार्टीको सिद्धान्तमाथि चुनौती उत्पन्न हुँदा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर निर्णय गर्नुपर्ने बताउनु भयो । उहाँले २०४६ सालको जनआन्दोलनपछि तत्कालीन राजाले प्रधानमन्त्री बन्न प्रश्ताव गर्दा गणेशमान सिंहले आफू प्रधानमन्त्री नबनी कृष्णप्रसाद भट्टराईलाई सिफारिस गरेको प्रसङ्ग स्मरण गर्नुभयो । उक्त निर्णयले प्रधानमन्त्री जनताको रोजाइबाट बन्नुपर्छ भन्ने राजनीतिक सन्देश दिएको उहाँको भनाइ छ । नेता सिंहले गणेशमान सिंहले लोकतन्त्रलाई बलियो बनाउन आर्थिक क्रान्ति आवश्यक रहेको बताउँदै बेरोजगारी अन्त्य, रोजगारी सिर्जना र जनताको जीवनस्तर सुधारमा जोड दिएको स्मरण गर्नुभयो । लोकतन्त्र राजनीतिक अधिकारमा मात्र सिमित नरही नागरिकको आर्थिक जीवन परिवर्तन गर्ने माध्यम बन्नुपर्ने उहाँको भनाइ छ । काँग्रेसभित्रको विशेष महाधिवेशनसम्बन्धी विवादबारे बोल्दै उहाँले पार्टीको विधान, नियम र परम्पराविपरीत केही व्यक्ति भेला हुँदैमा त्यसलाई विशेष महाधिवेशन भन्न नमिल्ने जिकिर गर्नुभयो । पार्टी सभापति र केन्द्रिय कार्यसमितिको सहमतिमा मात्रै विशेष महाधिवेशन हुने काँग्रेसको परम्परा रहेको उल्लेख गर्दै उहाँले १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति र केन्द्रिय कार्यसमितिलाई भङ्ग गर्ने अधिकार त्यस्तो भेलालाई नरहेको बताउनु भयो । उहाँले वीपी कोईराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र सुवर्णशमशेरजस्ता अग्रज नेताहरूले देखाएको सिद्धान्त र आदर्शको बाटोमा काँग्रेस अघि बढ्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसको विधान, नियम र स्थापित परम्परालाई बेवास्ता गर्दै केही व्यक्तिहरू भेला भएर कुनै कार्यक्रमलाई विशेष महाधिवेशनको संज्ञा दिँदैमा त्यसले वैधानिक विशेष महाधिवेशनको मान्यता प्राप्त गर्न सक्दैन। पार्टीको स्थापित अभ्यास र प्रक्रियाअनुसार हुनुपर्ने विशेष महाधिवेशनलाई जबर्जस्ती रूपमा व्याख्या गरेर १४ औँ महाधिवेशनबाट निर्वाचित पार्टी सभापति र केन्द्रिय कार्यसमितिलाई विस्थापित गर्ने अधिकार कसैलाई छैन । मैले यो विषय उठाउनुको कारण नेपाली काँग्रेसको ऐतिहासिक आदर्श र नेतृत्वको त्यागलाई स्मरण गराउनु हो । बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र सुवर्ण शमशेरजस्ता अग्रज नेताहरूले सिद्धान्त, आदर्श, राष्ट्रियता र लोकतन्त्रका पक्षमा अडिग रहँदै अनेकौँ दुःख, जेलजीवन र संघर्ष व्यहोर्नुभयो । उहाँहरूले व्यक्तिगत स्वार्थभन्दा पार्टीको सिद्धान्त र राष्ट्रको हितलाई सधैँ माथि राख्नुभयो । विशेषगरी गणेशमान सिंहको त्याग नेपाली राजनीतिमा अनुपम उदाहरण हो । २०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजाले उहाँलाई प्रधानमन्त्री बन्न आग्रह गर्दा उहाँले आफू प्रधानमन्त्री नबनी कृष्णप्रसाद भट्टराईलाई सिफारिस गर्नुभयो । यसबाट प्रधानमन्त्री जनताको चाहना र छनोटअनुसार बन्नुपर्छ भन्ने महत्वपूर्ण लोकतान्त्रिक सन्देश उहाँले दिनुभएको थियो । गणेशमान सिंहले प्रजातन्त्र प्राप्तिपछि पनि देशको आर्थिक तथा सामाजिक विकासका लागि स्पष्ट दृष्टिकोण प्रश्तुत गर्नुभएको थियो । उहाँको विचारमा लोकतन्त्रलाई बलियो बनाउन आर्थिक क्रान्ति आवश्यक थियो। बेरोजगारी अन्त्य गर्ने, जनताको जीवनस्तर सुधार्ने र मुलुकलाई समृद्ध बनाउने उहाँको सपना आज पनि उत्तिकै सान्दर्भिक छ । त्यसैले आज राष्ट्रियता र लोकतन्त्रमाथि चुनौती देखिएका बेला गणेशमान सिंहलगायत अग्रज नेताहरूले देखाउनुभएको त्याग, निष्ठा र आदर्शको बाटोमा अघि बढ्नु आवश्यक छ । नेपाली काँग्रेसले पनि आफ्नो ऐतिहासिक सिद्धान्त, लोकतान्त्रिक मूल्य र जनताप्रतिको जिम्मेवारीलाई आत्मसात गर्दै पार्टीभित्र एकता र विधिको शासन कायम गर्नुपर्छ ।’
राष्ट्रियता र लोकतन्त्रमाथि चुनौती उत्पन्न भइरहेका बेला गणेशमान सिंहको राजनीतिक विचार र त्यागलाई आत्मसात गर्नु अहिलेको आवश्यकता भएको नेता सिंहको भनाइ छ । –न्युज एजेन्सी नेपाल